मुख्यमन्त्री राउतद्वारा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास

समाचार

11/30/2020

जनकपुरधाम, १५ मंसिर । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले बाराको कलैयामा ५० सैय्याको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास गरेका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको योजनामा संघ सरकारले समेत सहयोग गर्ने भएपछि मुख्यमन्त्री राउत सहितको टोलीले बाराको कलैया उपमहानगरपालिका वडा नं. १६ झिटकैयामा ५० बेडको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको लागि सोमबार एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।

अस्पतालको शिलान्यास गर्दै मुख्यमन्त्री राउतले प्रादेशिक गौरवको योजनाको रुपमा अघि बढ्ने यस अस्पतालको निर्माणमा सबैको सहयोग आबश्यक रहेको बताए ।

जिल्ला समन्वय समिति बाराका अध्यक्ष नवल किशोर सिंहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा विशिष्ट अतिथिमा प्रतिनिधिसभा सदस्य रामसहाय यादव, रामबाबु कुमार यादव, प्रदेशसभा सदस्य पारस प्रसाद साह, ज्वाला साह, बच्चा यादव, कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव सहितको सहभागिता रहेको थियो ।

शिलान्यास कार्यक्रममा कार्यक्रमबारे सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव कृष्ण काप्रीले सहजीकरण गरेका थिए ।

काप्रीले ७ बिघा जगामा बहुवर्षीय योजनामा रहेको यो अस्पतालका लागि अहिले करिब ३२ करोड बजेट संघ सरकारबाट वितीय हस्तान्तरण भएर आउने र सामाजिक विकास मन्त्रालयले बनाउने जानकारी गराए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ