मजदूर नआउँदा ४० प्रतिशत इँटा उद्योग बन्द

समाचार

1/28/2021

काठमाडौं, १५ माघ । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् ।

निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका छन् ।

नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको बताउँछन् ।

गत वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सान भएको थियो । इँटा बन्ने समयमा कोभिडको प्रभावका कारण व्यवसायी धरासायी भएको उनको भनाइ छ ।

चित्रकारले भने, ‘४० प्रतिशत उद्योग अहिले पनि बन्द छन् । चलेका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।’ इँटा उद्योग आत्मनिर्भर भए पनि मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ ।

गत वर्षहरुको तथ्याङ्कलाई हेर्दा ६६ प्रतिशत मजदुर भारतीय हुने गरेका छन् । उद्योगीले उद्योग सञ्चालन गर्न नसक्नुको पछाडि भारतीय मजदुर र लगानीयोग्य पूँजीको अभाव भएको उनको भनाइ छ ।

भारतीय मजदुर आउन चाहेका छैनन् भने ल्याउने अवस्था पनि कठिन भएको उनी भन्छन् ।

नेपालमा वार्षिक तीन अर्ब वटा इँटा उत्पादन हुने सङ्घको तथ्याङ्क छ । देशभरमा एक हजार ८०० उद्योग रहेका छन् । नेपालका ३३ जिल्लाका व्यवसायी सङ्गठित छन् । हालसम्मको तथ्याङ्कलाई हेर्दा रौतहटमा सबैभन्दा बढी १६० वटा उद्योग छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ