पर्सा, ९ असार । मोटरसाइकलका पाटपूर्जा बिक्री गर्ने ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरेर आफ्नै ग्यारेजबाट पाटपूर्जा खोलेर बिक्री गर्ने तीन जनालाई वीरगञ्जबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१८ का २१ वर्षीय साहेव साह, २६ वर्षीय अवधेशप्रसाद पटेल र १५ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ । नाबालिग रहेकोले ती किशोरको नाम सार्वजनिक गरिएको छैन ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार सोमबार प्रहरी टोलीले वडा नम्बर २२ को जगरनाथपुरस्थित ग्यारेजबाट १२ वटा मोटरसाइकल बरामद गरेको थियो । त्यो अवधेशप्रसाद पटेलले सञ्चालन गर्ने ग्यारेज हो ।
डीएसपी खनालका अनुसार पटेलले मोटरसाइकल चोरी गरी आफ्नो ग्यारेजमा लगेर पार्टपूर्जा खोलेर बेच्ने गर्थे ।
पछिल्लो समय असार ४ गते एउटा बिहेको पार्किङस्थलबाट ना६२प ९७१७ नम्बरको मोटरसाइकल हराएको थियो । त्यो मोटरसाइकल हराएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
उनको ग्यारेजबाट प्रहरीले पार्टपूर्जा खोलेर राखेका अन्य ११ वटा चोरीका मोटरसाइकल बरामद गरेको छ । अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया