मटिहानी नगरपालिकामा असन्तुष्ट समूहले ताल्चा लगाए

समाचार

6/24/2021

महोत्तरी, १० असार । महोत्तरीको मटिहानी नगरपालिकाको नगरसभा भइरहेकै बेला नगरपालिका कार्यालयमा भने असन्तुष्ट समूहले ताल्चा लगाएका छन् ।मटिहानी नगरपालिकामा पाँच दल र स्थानीय मिलेर नगरपालिकाको मुल गेटमा ताल्चा लगाएका हुन् ।

पाँचै दलका ५०/६० जनाले नाराजुलुस गर्दै नगरपालिकामा तालाबन्दी गरेका हुन् । उनीहरूले नारा लगाउँदै नगरपालिका कार्यालय पुगेर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य राजकिशोर मण्डल, जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) का नगरध्यक्ष रामनन्दन यादव, नेपाली कांग्रेसका नगर संयोजक रामपदार्थ साह, नेकपा एमाले (माधव नेपाल पक्ष) का नगर कमिटी अध्यक्ष लालबाबु यादव र जनमत पार्टीका नगर कमिटी अध्यक्ष जगतलाल यादवले मटिहानी नगरपालिकाको कार्यालयमा संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

मटिहानी नगरपालिकामा करार सेवामा १८ जना स्वास्थ्यकर्मीहरू भर्ना गर्दा कुनै पनि प्रक्रिया पूरा नगरी आफ्ना आसेपासेलाई नियुक्ति गरेको, आफूसँग ५/७ जना केटाहरूलाई लठैतको रुपमा घुमाएर उनीहरूलाई नगरपालिकाबाट तलब खुवाउने गरेको, नगर क्षेत्रमा डेढ करोडको लागतमा खानेपानीको योजना सञ्चालन गरेर आफ्ना आसेपासेलाई खानेपानी पाइप बाँडेको, नगर क्षेत्रमा सञ्चालन हुने विकासका कामहरूका लागि नाम मात्रको नक्कली उपभोक्ता समिति बनाएर वडासचिव इन्जिनियरद्वारा नै योजना सञ्चालन गरेको, कर्मचारी र उपभोक्ता समितिको मिलोमतोमा बजेट हिनामिना गरेकोलगायत आरोप लगाउँदै पाँच दलका नेताहरूले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

पाँच दलले एक दिन पहिले नगरप्रमुख मण्डलसमक्ष विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाउन गएका थिए । नगरपालिकाले भने ज्ञापन पत्र बुझेको थिएन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ