काठमाडौं, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव–प्रचण्ड समूहले काठमाडौंमा माघ ९ गते बृहद तथा सशक्त विरोध प्रदर्शन गर्ने भएको छ ।
पेरिसडाँडामा शनिबार बसेको संयुक्त विस्तारित बैठकमा केन्द्रीय संघर्ष समिति, उपत्यका संघर्ष समिति, बागमती प्रदेश कमिटी, सम्पर्क विशेष कमिटी तथा जनवर्गीय र पेशागत संगठनले यस्तो निर्णय गरेको हो ।
बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनमा व्यापक सहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यवद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ÷संगठन तथा सम्पूर्णमा अपील गरेको छ ।
बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको तयारीका लागि माघ ४, ५ र ६ गते प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरी तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेको छ ।
त्यसैगरी माघ ६, ७ र ८ गते पर्चा वितरण, कोणसभा, माइकिङ, साँस्कृतिक प्रचार सभा सहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्न पार्टी कमिटी तथा जनसंगठनहरुलाई निर्देशन गरेको छ ।
बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको प्रचारका लागि माघ ७ गते अपरान्ह २ बजे काठमाडौं भृकुटी मण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल ¥याली आयेजना गर्ने निर्णय गरेका छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालले जारी आन्दोलन लोकतन्त्र, जनअधिकार र संविधानको रक्षाका लागि भएकाले कुनै राजनीतिक दलको मात्र नभएर सिंगो मुलुकको लोकतन्त्रवादी शक्तिको संयुक्त जनआन्दोलन भएकाले अत्यन्तै उत्साह र शसक्त ढंगले तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
माघ ९ गते उपत्यकाका विभिन्न स्थानबाट जुलुश सहित अपरान्ह १२ बजे काठमाडौंको रत्नपार्कबाट एकीकृत विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
तपाईको प्रतिक्रिया