काठमाडौं, ६ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नागरिकता मधेशको मात्र समस्या नभएको बताएका छन् । नेता कोइरालाले नागरिकतालाई लिएर भ्रम फैलाउने काम भइरहेको दाबी गरे ।
भर्चुअल माध्यमबाट शनिबार आयोजना गरिएको ‘मधेस मन्थन : नेपाली कांग्रेस र मधेस’ कार्यक्रममा नेता कोइरालाले नागरिकतासम्बन्धी विषयमा अनावश्यक शंका नगर्न आग्रह गरे ।
२०६२/६३ सालपछि नेपालमा वितरण भएको नागरिकताको तथ्यांक सुनाउँदै उनले भने, देशभर २६ लाख १७ हजार नेपालीले नागरिकता पाएका छन् । १३ लाख नागरिकता पहाड र हिमालमा बाँडिएको छ ।’
उनले भने, ‘जम्मा १२ लाख मधेस र तराईमा हो । यसमा पनि पहाडबाट मधेसमा झरेका छन् । बाँकी एक लाख १७ हजार चाहिं १५ वर्ष नेपालमा बसेका नागरिकका सन्तानलाई जन्मसिद्धका आधारमा दिइएको छ । तर २० लाख त मधेसमा मात्रै बाँडियो भनेर भ्रम फैलाइयो ।’
तर सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयनमा सर्वाेच्च अदालतले रोक लगाउनु स्वभाविक भएको उनको भनाइ छ ।
‘नागरिकता जस्तो संवेदनशील विषयलाई अध्यादेशबाट ल्याउनुहुन्छ ? सर्वाेच्चले रोक्छ भन्ने थाहा हुँदाहुँदै ल्याइएको हो । मधेसका केही नेतालाई सरकारमा सहभागी गराउन ल्याइएको हो,’ उनले भने ।
नेता कोइरालाले मधेसको माग पहिचान, प्रतिनिधित्व र पहुँच भएको भन्दै त्यसमा कांग्रेसको साथ रहेको बताए ।
तपाईको प्रतिक्रिया