जनकपुरधाम, १६ चैत । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्व मानिएको होली मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।
भौगोलिक संरचना र मान्यताअनुरूप हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन ‘फागु’ को रुपमा मनाइने यो पर्व मधेशमा फागु पूर्णिमाको भोलिपल्ट होली खेल्ने चलन रहेको छ ।
मधेशमा होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । सबै प्रकारका भेदभावलाई भष्म गरी सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ ।
हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्ने पर्वको रुपमा मधेशमा मनाइन्छ ।
यस पर्वले असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको मान्यता छ ।
वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।
यसै क्रममा होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ ।
रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु ,झाल, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्व हिजो आज भने केही ओझेलमा परेको पाइन्छ ।
तपाईको प्रतिक्रिया