जनकपुरधाम, १ असार । मधेशी आयोगका अध्यक्ष तथा उच्चस्तरीय अनुगमन समितका संयोजक डा. विजयकुमार दत्त र नेपाल प्रहरी का प्रदेश २ प्रमुख तथा प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहबीच मंगलबार प्रदेशको समग्र वस्तुस्थिति बारे छलफल भएको छ ।
छलफलमा डीआईजी सिंहले प्रदेशको शान्ति सुरक्षाको स्थिति, देखापरेका समस्याहरुबारे अध्यक्ष दत्तलाई जानकारी गराएका थिए ।
धनुषाको मुखियापट्टी मुसरनियाको घटनाको सत्यतथ्य छानविन, लकडाउनको समयमा बढेको घरेलु हिँसा, कोरोनाका बेलामा पनि विभिन्न बहानामा अनावश्यक भीडभाड गर्ने, नेपाल–भारत सीमामा देखापरेका समस्याहरु जस्ता समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
त्यस क्रममा डीआईजी सिंहले प्रदेश–२ का लागि आवश्यक रणनीति बनाई शान्ति सुरक्षामा कुनै कमीकमजोरी आउन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अध्यक्ष दत्तले तराई/मधेशमा बढिरहेको घटनालाई आवश्यक रणनीति अपनाई नेपाल प्रहरीले न्यूनीकरण गर्न कुनै कसर बाँकी नराख्न तथा यस्ता कामहरुमा आयोगले गर्नुपर्ने सहयोग तथा सहकार्यको लागि आयोग सधैं तयार रहेको बताएका थिए ।
तपाईको प्रतिक्रिया