काठमाडौं, ५ माघ । पहिलो मधेश आन्दोलन भएको माघ ५ गते १४ वर्ष पूरा भएको छ । यस अवधिका मधेश आन्दोलनको विषयमा धेरै बहस र समीक्षा भए तर उपलब्धि जनताले महसुस गर्न पाएनन् ।
मधेश आन्दोलनकै नाममा केही मधेशी नेताहरू मन्त्री बन्न सफल भए पनि आम मधेशी जनताको जीवनमा त्यसको कुनै असर परेको छैन ।
यद्यपी माघ ५ लाई मधेशले ‘बलिदानी दिवस’को रूपमा सम्झने गरेको छ । सुरूका दिनमा बलिदानी दिवसको अवसरमा खुब तामझामका साथ दिवसको स्मरण गरिन्थ्यो भने शनैः शनै त्यो विस्मृत हुँदै गएको छ ।
किनभने आन्दोलन जति पुरानो हुँदै जान्छ त्यो आन्दोलनको विरासत पनि कमजोर हुन्छ । केही वर्षअघिसम्म बलिदानी दिवस मनाउन मधेशी दलहरूबीच अघोषित प्रतिस्पर्धा नै हुन्थ्यो ।
२०६३ सालमा अन्तरिम संविधान जारी भएलगत्तै काठमाडौंको माइतीघरमा तात्कालीन मधेशी जनअधिकार फोरमले अन्तरिम संविधानको प्रतिलिपि जलाएको थियो ।
संविधानको प्रतिलिपि जलाएको आरोपमा फोरमका अध्यक्ष उपेन्द्र यादव सहितका दर्जन बढी नेता गिरफ्तार भए ।
नेताको गिराफ्तारीको विरोधमा मधेशका जिल्लाहरूमा आन्दोलन सुरू भयो । राजमार्गमा टायर बालेर सुरू भएको जक्काजाम आन्दोलन माघ ५ गते लहानबाट जनविद्रोहको रूपमा मधेशभर फैलियो ।
२०६३ माघ ५ गते सिरहाको लहानमा तत्कालीन नेकपा माओवादी कार्यकर्ताले चलाएको गोलीबाट रमेश महतोको निधनको भएको थियो ।
त्यससँगै मधेश आन्दोलन उठेको हो । त्यही आन्दोलनबाट धेरै मधेशी नेताको उदय भएको र उनीहरू स्थापित पनि भए । धेरै मन्त्री पनि भए । तर मधेशी जनताले के पाए भन्ने प्रश्नको जबाब अहिले पनि मधेशले खोजिरहेको छ ।
तपाईको प्रतिक्रिया