जनकपुरधाम, २४ भाद्र । वि.सं. २०७२ सालको मधेश आन्दोलनको क्रममा महोत्तरीको जलेश्वरमा सहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा मधेश अधिकार संघर्ष समिति (मास)ले श्रद्धाञ्जली सभा गरेको छ ।
२०७२ सालमा भाद्र २३ र २४ गतेको मधेश आन्दोलनमा सुरक्षाकर्मीको दमनबाट जलेश्वरमा ६ जनाको ज्यान गएको थियो ।
मासले बुधबार मधेशी शहीदको सम्झनामा आयोजना गरेको श्रद्धाञ्जली सभामा वक्ताहरुले मधेशी शहीदको सहादत खेर नजाने प्रतिबद्धता गरेका थिए ।
मधेश अधिकार संघर्ष समिति (मास) मा आबद्ध युवाहरु जनकपुरको रामानन्द चौकमा दिप प्रज्वलन गरि वीर सहिदहरुलाई श्रद्धाञ्जली व्यक्त गर्नुको साथै मधेशको नाउँमा राजनीति गर्ने राजनीतिक दल एवं नेताहरुलाई सत्ता भत्ताको लोभ छोडी मधेश मुद्दा र संविधान संशोधन जस्तो प्रमुख मुद्दामाथि ध्यान दिन खबरदारी गरेका हुन् ।
मधेशी वीरहरुले बगाएको रगत र सहादतको दम्भमा पाएको संघीयतालाई जोगाउन मास आज पनि प्रतिबद्ध रहेको संयोजक सरोज मिश्रले बताए ।
सहादतले दिएको सत्ताको गलत दुरूपयोग गर्नेहरुलाई आज शहीदहरुको समझना समेत नहुनु अत्यन्त दुःखद रहेको वक्ताहरूले बताएका छन् ।
श्रद्धाञ्जलीसभा कार्यक्रममा वीर शाहिद अमर रहे, मदेशको माग पूरा गर, संविधान संशोधन गर, सत्ता भत्ता छोडेर मधेशलाई अधिकार सम्पन्न बनाऊ, हक अधिकार सुनिश्चित गर जस्ता नाराहरु लगाई कार्यक्रमको समापन गरिएको थियो ।
तपाईको प्रतिक्रिया