जनकपुरधाम, ५ फागुन । प्रदेश २ को सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन भएको छ ।
जनकपुरधामको प्रादेशिक अस्पताल प्राङ्गणभित्रै मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रूपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
प्रतिष्ठानको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राउतले यो प्रतिष्ठानको कार्यालयको उद्घाटनसँगै प्रदेश २ ले स्वास्थ्यको क्षेत्रमा ठूलो खुड्किलो पार गरेको बताए ।
उनले प्रदेश २ स्वास्थ्यको सूचकांकमा सातै प्रदेशमध्ये सबभन्दा पुछारमा रहेको समयमा प्रतिष्ठानको स्थापनाले यसलाई उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
‘सबै प्रकारको रोगको उपचार एकै अस्पतालमा हुने वर्षौ पुरानो अकांक्षा अब पूरा हुने छ,’ मुख्यमन्त्री राउतले भने,‘यो हाम्रो सुरूआत मात्रै हो, विस्तारै यहीँ पनि एमबिबिएस, एमडी लगायतको पढाइ हुने छ ।’
उनले प्रतिष्ठानको स्थापनासँगै चिकित्सकहरूका लागि आफ्नै गाउँ÷ठाउँमा सेवा प्रदान गर्ने वातावरणको निर्माण गर्ने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया