मन्त्री चौधरीद्वारा महिला बालबालिका विभागका कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन

समाचार

6/9/2021

काठमाडौं, २६ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीलाई मन्त्रालयअन्तर्गत रहेको महिला बालबालिका विभागले विस्तृत ब्रिफिङ्ग गरेको छ । बुधबार पुल्चोकस्थित रहेको विभागको कार्यालयमा विभागका निर्देशक दुर्गादेवी देवकोटा पौडेलले एक कार्यक्रमका बीच विभागको गतिविधि बारेमा जानकारी गराएकी हुन् ।

निर्देशक पौडेलले यस विभागको औचित्य, चुनौती, अवसर र विगतदेखि गर्दै आएका गतिविधिका बारेमा विधिवत रुपमा जानकारी गराएकी थिइन् ।

त्यस्तै, राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले परिषदको बारेमा जानकारी गराए ।

परिषद्को अध्यक्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहने व्यवस्था छ । त्यसअनुसार मन्त्री चौधरीले परिषद्को अध्यक्षमा पद्स्थापन गर्दै प्रदेश १, २ र लुम्बिनी प्रदेशमा बालबालिका खोज केन्द्र १०४ विस्तार गर्ने निर्णयलाई सदर गरेकी छन् ।

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले विभागबाट प्रदान गरिँदै आएको सेवामा कुनै पनि ढिलासुस्ती नगरी कार्य सम्पादन गर्न निर्देशन दिइन् ।

उनले विभागअन्तर्गत बेरुजुको बिकराल समस्या देखिएको हुँदा यसलाई जति सकिन्छ तत्काल समाधानका उपायका लागि पहल गर्ने र त्यसमा सबैको सहयोग रहने विश्वास व्यक्त गरिन् ।

आफू महिला, बालबालिकाको समस्या समाधान गर्ने केन्द्रबाट पर्याप्त नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म काम गर्ने संयन्त्र बनाउनु पर्नेमा उनले जोड दिइन् ।

घरेलु र यौन हिंसाबाट महिलाहरु निकै पीडित हुने गरेको र सार्वजनिक गर्न नसक्ने स्थिति अझै पनि पुर्न रुपमा बनी नसकेको दुःखदायी अवस्थाको अनुभव आफूले गरेको भन्दै त्यसका लागि विभागले समाजको तल्लो वर्गका महिला र बालबालिकाका लागि परिणाम आउने गरि काम गर्नु पर्नेमा मन्त्री चौधरीले जोड दिइन् ।

उक्त अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेनुका गुरुङको समेत उपस्थिति रहेको थियो । त्यस्तै मन्त्रालयका सचिव यम कुमारी खतिवडाको समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ