सप्तरी, १५ असार । राजविराजमा गठित मानव अधिकार निगरानी समूहले आफ्नो बैठक खर्चको रकम एक विपन्न महिलालाई उपचारका लागि प्रदान गरेको छ ।
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार निगरानी समूहको बैठकको चियानास्ता खर्च वापत जम्मा भएको पाँच हजार रुपियाँ राजविराज–९ मलेठकी सियावती मेहतालाई उहाँकै घर पुगेर समूहले प्रदान गरेको हो ।
इन्सेक प्रतिनिधी मनोहर पोखरेल र समूहका सहस्यहरुका साथ पुगेका निगरानी समूहका अध्यक्ष रघुबर साहले उक्त रकम हस्तान्तरण गरेका छन् ।
मानव अधिकारको मुल्य र मान्यतालाई स्थापित गराउने उद्देश्यद्वारा इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको कार्यक्रम फोकल पर्सन बरुण बस्यालले व्यक्तिगत रुपमा पाँच सय रुपियाँ प्रदान गरेका हुन् ।
उपचार खर्चको अभावमा घरमै बस्नु भएकी आँखा रोगी मेहताले प्राप्त रकमले विराटनगर गई उपचार गराउने बताइन् ।
आँखा अस्पताल लहानले विराटनगर जान सल्लाह दिएको र मृगौलामा समेत समस्या देखिएको उनले जानकारी दिइन् ।
उनका श्रीमान निगरानी समूहका सदस्य एवम् पत्रकार उपेन्द्रनारायण मेहताको गत वैशाख १३ गते मृत्यु भएको थियो ।
गाउँमै सबैभन्दा कमजोर आर्थिक अवस्थामा रहेको उहाँको श्रीमानको मृत्युपछि असहाय बनेकी स्थानीय फुलेश्वरीदेबी मेहताले बताइन् ।
इन्सेक सप्तरीको प्रतिनिधिको कार्यालयमा गत असार १० गते बसेको निगरानी समूहको वैठकले सहयोग रकम प्रदान गर्ने निर्णय गरेअनुसार उनको घर पुगेर रकम हस्तान्तरण गरिएको सहजकर्ता दिपक यादवले जानकारी दिए ।
तपाईको प्रतिक्रिया