विराटनगर, ११ चैत । भारतसँग सीमा जोडिएको मोरङमा सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट्) संख्या ११ पु¥याइएको छ ।
नेपाल–भारत खुला सीमा रहेका स्थानको सुरक्षा व्यवस्था मजबुत बनाउने उदेश्यले पछिल्लो पटक स्थापना गरिएका तीनवटा बीओपीको एकैसाथ आइतबार उद्घाटन गरिएको छ ।
मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी, रंगेली नगरपालिका–५ धनापट्टि र रतुवामाई नगरपालिका–३ मीर्चाडाँगी नाकामा बीओपी स्थापना गरेर सञ्चालनमा ल्याइएको हो ।
सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दास, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले एक कार्यक्रमका बीच संयुक्तरुपमा उद्घाटन गरेपछि बीओपी औपचारिक रुपमा सञ्चालनमा आएका छन् ।
विस्तारै थप गरेर जनशक्ति व्यवस्थापन गर्दै जाने गरी हाललाई सबै युनिटमा प्रहरी नायव निरीक्षक (सइ)को नेतृत्वमा टोली राखिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।
उनका अनुसार भारतसँगको ६३ दशमलव ४ किलोमिटर खुला सिमा रहेको मोरङमा नयाँ थपिएकासहित बीओपी संख्या ११ पुगेको छ ।
सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीका बीओपी यसअघि मोरङका सीमावर्ती क्षेत्रमा आठवटा मात्रै रहेको पौडेलको भनाइ छ ।
अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउँदै लैजाने सरकारको नीति अनुरुप अहिले नयाँ बीओपी थप गरिएको जानकारी उनले दिए ।
पौडेलका अनुसार स्थानीय सरकारको सहयोग, संसद् विकास कोष तथा जनश्रमदानबाट नयाँ बीओपी सञ्चालनमा ल्याउन सम्भव भएको हो ।
दुई देशबीचको सीमा क्षेत्रलाई व्यवस्थित गर्न सशस्त्र प्रतिवद्ध रहेको डीआईजी दाहालले बताए । सीमाको विकास र सुरक्षालाई सहयोग पु¥याउने मुख्य उदेश्यले बीओपी स्थापना गरिएको जानकारी उनले दिए ।
‘दुई देशीय सीमा मुलुककै गौरव भएकाले त्यसलाई व्यवस्थित गर्ने महत्वपूर्ण जिम्मेवारी सशस्त्रलाई छ,’ डीआईजी दाहालले भने, ‘त्यही भएकाले पिलरको रेखदेख गरेर सीमाको रक्षा, नियम र कानुनको पालनालाई विशेष ध्यान दिइएको छ ।’
तपाईको प्रतिक्रिया