मुलुकमा नेकपाको काम छैन, कांग्रेस ढुलमुले : जसपा अध्यक्ष यादव

समाचार

1/3/2021

जनकपुरधाम, १९ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्ने जिम्मेवारी जसपाको काँधमा आएको बताएका छन् ।

जसपाको युवा संगठन समाजवादी युवा संघले जनकपुरमा आयोजना गरेको दुई दिने युवा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानमा रहेको असन्तुष्टीहरुलाई सम्बोधन गर्न संविधान परिमार्जन गर्नु पर्ने बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र गणतन्त्रलाई नै समाप्त गर्ने चेष्टा गरेको उल्लेख गरे ।

उनले नेकपाको पछिल्लो गतिविधिले मुलुकमा नेकपाको काम नरहेको स्पष्ट भैसकेको र काँग्रेस पनि ढुलमुले भएकोले लामो आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी जसपाको काँधमा आएको दावी गरे ।

डेट एक्सपायर भैसकेको नेपाली काँग्रेस र इन्जिन विग्रिएको नेकपाले मुलुकलाई अग्रगामी दिशामा लान नसक्ने उल्लेख गर्दै अध्यक्ष यादवले परिवर्तनको सम्बाहक युवाहरुलाई अबको नेतृत्व लिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा कार्यकारिणी समितिका सदस्य सरत्सिह भण्डारीले ओली नेतृत्वको सरकारले चुनाव गराउन नभई सत्तामा टिकी राख्न र थप प्रतिगमनकारी कदमहरु चाल्न संसद विघटन गरेको आरोप लगाए ।

उनले न्यायपालिकालाई समेत संसद पुनस्र्थापना नगर्न दिन दहाडै धम्की दिने प्रधानमन्त्री ओलीलाई सडक बाटै परास्त गर्नु पर्ने बताएका छन् ।

त्यस्तै प्रदेश २ का मुख्यमन्त्री एवं जसपाका कार्यकारिणी सदस्य लालबाबु राउतले संघीयता र समावेशितालाई समाप्त गर्न प्रतिगामीकारी शक्तिहरुले योजना तहत संविधानको मर्म विपरित प्रतिनिधि सभा विघटन भएको दावी गरे ।

युवा संघका अध्यक्ष योगेन्द्र राय यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यकारिणी सदस्य एवं प्रदेश २ का आर्थिक मामिला मन्त्री विजय कुमार यादव, राज्यमन्त्री उषा यादव, केन्द्रिय सदस्य महाजन यादव, विभा पाण्डे सहितका वक्ताहरुले सम्बोधन गरेको थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ