मुलुक अधिनायकवादतर्फ अग्रसर : पूर्वमन्त्री साउद

समाचार

1/29/2021

बारा, १६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री एनपी साउदले नेकपा भित्रको उत्पन्न विवादलाई समाधान गर्न नसकेपछि संसद विघटन भएको बताएका छन् ।

नेपाली कांग्रेस बाराले वीपी स्मृति भवन कलैयामा आयोजना भएको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री साउदले सिंगो पार्टीको झगडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मुलुकलाई अधिनायकवाद तर्फ अग्रसरता देखाएको आरोप लगाए ।

नेता साउदले नेपाली जनताले पांच वर्षसम्ममा सरकार सञ्चालन गर्न भोट दिएपनि जनतालाई धोती लगाएर संसद विघटन गरि मुलुकलाई अधिनायकवाद लादन खोजेको बताए ।

संसद विघटन गरि निर्वाचनको मिति तोकेर नेपाली जनतामाथि निर्वाचन खर्चको भार प्रधानमन्त्री ओलीले लादेको साउदले टिप्पणी गरे । उनले भने,‘संसद पुनःस्थापनाले मुलुकमा अस्थिरता बढन गई राजनीतिक जटिलता थपिने छ । संविधानको रक्षा गर्नको लागि सम्पूर्ण नेपाली जनता एक ढिक्का हुनुपर्छ ।’

एक फरक प्रसंगमा उनले मुलुकको अहिलेको अवस्थामा फागुनसम्ममा पार्टीको महाधिवेशन गर्न नसकिने भन्दै उनले भदौसम्ममा पार्टीको महाधिवेशन सम्पन्न गर्ने चुनौती थपिएको बताए ।

नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व राज्यमन्त्री गोबिन्दबहादुर शाह, कलावती पासवान,पुर्व सभासद मधुशाही ठकुरी, रामअयोध्या यादव, शोभाकर पराजुली, उपसभापति सुरेन्द्र गुप्ता, कोषाध्यक्ष चन्द्रशेखर यादव, सचिव मनोज भट्ट, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, सिम्रौणगढ नगरपालिकाका नगर प्रमुख विजयशंकर यादव लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ