वीरगन्ज, ३ फागुन । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले राजनीतिक अस्थिरता नटुङिगए मुलुक संवैधानिक शून्यतामा पुग्ने खतरा रहेको बताएका छन् ।
विश्व रेडियो दिवसको अवसरमा आइतबार वीरगन्जमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले आयोजना गरेको महामारी र विपदका बेला सामुदायिक रेडियोे भूमिका विषयक अन्तरक्रियामा मन्त्री सोनलले यस्तो बताएका हुन् ।
मन्त्री सोनलले भने, ‘पुष ५ देखि जुन राजनीतिक अस्थिरता शुरु भएको छ, यो छिट्टै टुङिगएन भने मुलुक संवैधानिक शून्यतामा पुग्छ । त्यसपछि अहिलेकोभन्दा पनि भयावह अवस्था आउछ ।’
संविधान जारी गर्ने बेला विश्वकै सर्वोत्कृष्ट संविधान भनेर डंका (डम्फु) पिटेकाले नै अहिले संविधान मास्ने षडययन्त्र गरिरहेको उनको आरोप थियो ।
मन्त्री सोनलले भने, ‘हामीले त अहिले पनि यो संविधान अधुरो छ भनेकै छौं । हाम्रा केही माग संविधानले समेटको छैन तर हिजो हामीलाई जेलमा कोचेर जबरजस्ती संविधान जारी गरियो । जसले सर्वोत्कृष्ट भने आज उनैले संविधान कुल्चिएका छन् ।’
फरक प्रशंगमा बोल्दै मन्त्री सोनलले कोरोना महामारीका बेला एफएम रेडियोले निर्वाह गरेको भूमिकाको सह्राहनिय भएको बताए ।
यस्तै, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) का महासचिव गोविन्द देवकोटाले कोरोना जस्तो महाविपद्का बेला पनि जनतालाई सुसूचित गर्न प्रदेश २ सरकारले सामुदायिक रेडियोसंग सहकार्य नगरेको गुनासो गरे ।
तपाईको प्रतिक्रिया