मलंगवामा कर्फ्यु लगाइयो

समाचार

9/19/2020

सर्लाही, ३ असोज । सर्लाहीको मलंगवामा हिन्दु र मुस्लिम समुदायबीचको सम्भावित झड्पलाई रोक्न स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

शुक्रबार विश्वकर्मा पूजापछि मूर्ति सेलाउने विषयमा विवाद भएको र सोही विवादका कारण दुवै समुदायका मानिस शनिबार सोही स्थानमा भेला हुन थालेपछि सम्भावित झडप रोक्नका लागि कार्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाकारी दिए ।

पुरानो मलंगवा बजार क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि शनिबार दिउँसो साढे १ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

शुक्रबार साँझ सवा ५ बजे सर्लाही मलंगवा–३, विश्वकर्मा चोकस्थितबाट विश्वकर्मा पूजा गरी मूर्ति सेलाउनका लागि ट्याक्टरमा राखेर लैजाने क्रममा बाटोमा मुस्लिम समुदायको बस्तीनजिकै रहेको मस्जिद नजिक आईपुग्दा चर्को आवाजमा डीजे बाजा बजाएको विषयलाई लिएर दुई पक्षबीच विवाद तथा सामान्य झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ