मलेठ घटनाको चार वर्ष, प्रदेश सरकारले अझै सार्वजनिक गरेन प्रतिवेदन

समाचार

3/7/2021

काठमाडौं, २३ फागुन । सप्तरीको मलेठमा आजकै दिन पाँच जना मधेशीको हत्या भएको चार वर्ष पूरा भएको छ । तत्कालीन नेकपा एमालेले मलेठमा गरेको आमसभाविरुद्धमा भएको आन्दोलनको क्रममा राज्यको तर्फबाट दमन हुँदा पाँचजनाले ज्यान गुमाउन पुगे ।

२०७३ फागुन २३ गते एमालेले ‘मेची–काली अभियान’ अन्तर्गत सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र सभाको आयोजना गरेको थियो ।

मधेशकेन्द्रित दलले तत्कालीन एमालेलाई मधेशमा निषेध गरेको अवस्थामा उसको कार्यक्रम विथोल्ने रणनीति बनाएको थियो । उता एमालेले कुनैपनि हालतमा कार्यक्रम गरिछाड्ने अडानमा थियो ।

सोहीको प्रतिकारस्वरुप पाँच जना मधेशीले ज्यान गुमाएका थिए । एमाले र मधेशी दलको हठका कारण यो दुःखद घटना घटेको नागरिक अगुवाहरुको भनाइ छ ।

मलेठ घटनाको छानबिन तथा अनुसन्धान गरी राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै प्रदेश २ को सरकार आफैले छानबिन गरेको थियो ।

प्रदेश सरकारले अहिलेसम्म पनि आफ्नो प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । पीडित परिवारलाई न्याय र दोषीलाई कारबाही गरिने प्रतिबद्धता प्रदेश सरकारले गरेपनि प्रतिवेदन सार्वजनिक किन गरेन भन्ने प्रश्न उठ्दै आएको छ ।

प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा संजन मेहता, आनन्द साह, पिताम्बर मंडल, बिरेन्द्र महतो र ईनर यादवको ज्यान गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ