मुस्लिम आयोगको ध्यानाकर्षण

समाचार

4/5/2020

काठमाडौं, २३ चैत । कोरोना संक्रमण र लकडाउनसँग सम्बन्धित मुस्लिम समुुदायसँग जोडिएर आएका कुराहरुप्रति मुस्लिम आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले आइतबार एक विज्ञप्ति जारी गरी देशभरका सम्पूर्ण मुसलमानहरूलाई गम्भीर हुन अनुरोध गरेका छन् ।

एमाम, मोअज्जीन र आवश्यक कर्मचारीबाहेक कुनै पनि व्यक्तिलाई मस्जिदभित्र बस्न नदिन, कुनै व्यक्ति कुनै कारणले मस्जिदभित्र बसेको छ भने तुरुन्त स्थानीय प्रशासनलाई खबर गरी बैकल्पिक व्यवस्था मिलाउन अध्यक्ष अन्सारीले आग्रह गरेका छन् ।

‘कतिपय मदरसाका छात्रहरू लकडाउन शुरु भएपछि घर फर्कन नसकेका हुन सक्दछन् । कुनै पनि मद्रसा, छात्रवास वा मुसाफिरखानामा आवश्यक कर्मचारीबाहेक छात्रछात्रासमेत कुनै पनि व्यक्तिलाई बस्न न दिनुहोस् । तुरुन्त स्थानीय प्रशासनलाई खबर गरी बैकल्पिक व्यवस्था मिलाउनुहोस्’, अध्यक्ष अन्सारीले अनुरोध गरेका छन् ।

उनले तब्लीग जमातका जिम्मेवार व्यक्तिहरूलाई विशेष अनुरोध गरेका छन्, ‘लकडाउनभन्दा पहिले कुनै पनि मस्जिदमा जमात आएको रहेछ र जमातीहरू त्यहीँ फँसेका रहेछन् भने तुरुन्त स्थानीय प्रशासनलाई खबर गरी बैकल्पिक व्यवस्था मिलाउनुहोस् ।’

मस्जिदहरूमा ५ टाइमको नमाज र जुमाको नमाज एमाम, मोअज्जीन र आवश्यक कर्मचारीहरूले मात्र नमाज अदा गर्न भन्दै उनले.सरकारले आह्वान गरेको लकडाउन आदेश पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ