काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टका नेताहरुले महाकाली सन्धिमा राष्ट्रघात गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै अध्यक्ष यादवले यस्तो आरोप लगाउँदै कांग्रेस र कम्युनिष्टका नेताहरुले माफी माग्नुपर्ने बताएका हुन् ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका यादवले भने, ‘यो कसको पालामा किन भएको हो त्यसको जानकारी सदनमा हुनुपर्छ । कालापानी क्षेत्रमा ६० वर्षबाट भारतले विभिन्न संरचना निर्माण गरी सेना राखेको थियो । सन् १९६५ मा पनि सन्धी भएको कुराहरु बाहिर आएकाले यो विषयमा सरकारले जवाफ दिनुपर्छ । नश्लवादी मानसिकता त्यागेर आन्तरिक राष्ट्रियतालाई बलियो बनाएमात्रै राष्ट्रिय एकता बलियो हुन्छ ।’
उनले भने, ‘सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको छ । यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरूले माफी माग्नुपर्छ ।’
यादवले विगतमा राष्ट्रघाती काम गर्नेहरुले नेपाली जनतासँग माफी माग्नुपर्ने बताए । महाकाली सन्धि गर्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समेत रहेका भन्दै उनले भने जवाफ दिनुप¥यो सुगौली सन्धिभन्दा राष्ट्रिय हितमा पछाडि किन हटेको ?’ भन्दै प्रश्न गरे ।
तपाईको प्रतिक्रिया