महोत्तरीको निषेधाज्ञा एक साता थप

समाचार

6/23/2021

महोत्तरी, ९ असार । महोत्तरीमा कोभिड–१९ महाव्याधि सङ्क्रमण छल्न जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । आजदेखि लागू हुने गरी छैटौँपटक जारी निषेधाज्ञाको अवधि असार १५ गते मध्यरातसम्मलाई थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो ।

पछिल्लोपटक एक साता थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ । यस अवधिमा अत्यावश्यक वस्तुका पसलहरु अब बिहानदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुनेछन् । त्यसैगरी निजी सवारी साधन सञ्चालनमा पनि छुट गरिएको छ ।

यसअघि अत्यावश्यक सामग्री बेच्ने पसल बिहान तीन घण्टामात्र सञ्चालन हुनसक्ने व्यवस्था थियो ।

थप गरिएको निषेधाज्ञा अवधिमा सिनेमाहल, होटल, सभासम्मेलन, भोजभतेर र सार्वजनिक भाडाका सवारी साधन चल्ने छैनन् । खुकुलो बनाइएको अवधिभित्र पनि सुरक्षाका लागि स्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गर्नुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

जिल्लामा यसपालि गत वैशाख २२ गतेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता क्रमशः पछिल्लो पटकसमेत छैटौँपटक निषेधाज्ञा अवधि थप गरिएको हो । यो थपिएको अवधिमा नेपाल–भारत आवतजावत पूर्ण बन्द रहने स्पष्ट पारिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ