महोत्तरी, ३ असार । सिमेन्ट माग्ने विषयमा विवाद हुँदा कुटाकुट भएको छ । कुटाकुटमा दुई जना घाइते भएका छन् । महोत्तरीको सम्सी गाउँपालिका वडा न. ५ पोखरभिण्डामा भइरहेको विकास निर्माणका कार्यमा कमिसनको सट्टा सिमेन्टको बोरा माग्दा विवाद भएको थियो ।
घाइते हुनेमा सम्सी गाउँपालिका ५ पोखरभिण्डाका बसन्त कुमार यादव र विमलेश यादव रहेका छन् । गाउँपालिकाकै २ करोडको बजेटमा टेन्डर प्रकियाबाट रामएकवालको घरदेखि दलित बस्ती हुँदै रामबाबुको घरसम्म पिसिसि ढलानको योजना रहेको छ ।
सो ढलानमा विभिन्न बाधा विरोध गर्दै अन्तमा केही नलागेपछि सोही वडाका वडा अध्यक्ष पन्नु यादव आफ्नो छोराहरुसहित सिमेन्ट माग्न पुग्दा सो विवाद भएको थियो ।
अध्यक्ष यादवले निर्माण व्यवसायीका सहयोगीसँग सिमेन्ट माग्दा उसले ठेकेदारसँग माग्नुस्, नभए मलाई भन्न लगाउनु म दिन्छु भनेपछि त मेरो वडामा भएर मसँग मुख लगाउँछन् भनेर बाँसको लाठीले टाउकोमा हिर्काएपछि बसन्त कुमार यादव र मुकेश कुमार यादवको टाउको फुटेको छ ।
घाइते दुवै जनालाई जलेश्वर अस्पतालमा उपचारपछि जनकपुरको श्रीराम अस्तपालमा रेफर गरिएको छ । घाइते बसन्तका अनुसार सिमेन्ट माग्नु त एउटा बहाना मात्र हो । वडा अध्यक्षको आफ्नो स्वार्थपूर्ति नभएपछि सो घटना गराएको घाइते यादवले बताए ।
गाउँपालिकाको बजेटबाट विकास निर्माण भइरहेको कामको चेकजाँच तथा अनुगमन गर्नु उनको अधिकार हो तर अधिकारभन्दा बाहिर गएर खुल्लेआम कमिसन माग्नु पदीय मर्याविपरित रहेको बुझिन्छ ।
एक जना स्थानीयका अनुसार पढेलेखेका र विनापढेका नेतामा यही फरक हुँदो रहेछ । यसरी स्वय अध्यक्षबाट नै कमिसनका लागि विवाद गर्नु राम्रो होईन ।
सबैलाई आ—आफ्नो मर्यादामा बस्नु पर्ने स्थानीयहरुको धारणा रहेको छ । तर यसरी जथाभावी मारपिट गरेर टाउको फुटाएपछि केही न केही कारवाही हुनु पर्छ अनि मात्र केही नेताहरुमा डर त्रास हुन्छ ।
तपाईको प्रतिक्रिया