महोत्तरी, २० जेठ । महोत्तरीमा चौथोपटक निषेधाज्ञा जारी गरिएको छ । यही जेठ १० गतेदेखि आज जेठ २० गते मध्यरातसम्मलाई तेस्रोपटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ ३१ गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः ११ दिन थप गरेको हो ।
पहिलोपटक गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता जेठ १ र १० गते क्रमशः दोस्रो र तेस्रोपटक निषेधाज्ञा जारी गरिएको हो ।
जिल्लामा कोभिड–१९ संक्रमणको दर घट्दै गए पनि जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँड्डुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।
यस अवधिभर सार्वजनिक यातायातका साधन, होटेल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला, जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ ।
अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दूध, पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ ।
तपाईको प्रतिक्रिया