महोत्तरीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु

समाचार

5/18/2021

महोत्तरी, ४ जेठ । महोत्तरीको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा शौचालय निर्माणबारे विवाद उत्पन्न भई दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

झडपमा २६ वर्षीय जाविर राइनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । झडपका बेला दुवै समूहले लाठी र चिर्पट प्रयोग गरेका थिए ।

मामा–भान्जा स्थानीयवासी मोस्लिम राइन र मोतालिभ राइनबीच मंगलबार शौचालय निर्माणबारे विवाद भएको थियो । सोही बेला लाठी र चिर्पट हानाहान भइरहेकै बेला मोतालिभले जाविरको टाउकोमा बाँसको लाठीले लागेर गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएका छन् । सोही घटनामा मोतालिम राइन, छोटन राइन, हजरत राइन र मीना खातुन गम्भीर घाइते भएका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोतालिभ राइन र असरफ राइनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ