महोत्तरी, १० जेठ । महोत्तरीमा निषेधाज्ञा जेठ २० गतेसम्मका लागि लम्ब्याइएको छ । आइतबार जिल्ला कोभिड व्यवस्थापन समिति महोत्तरीको बैठकले जेष्ठ २० गतेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।
प्रजिअ भट्टराईले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम सोमबार राति १२ बजेदेखि जिल्लाभर निषेधाज्ञा लगाइएको बताए। महोत्तरीमा वैशाख २२ गतेदेखि निषेधाज्ञा लगाइएको छ ।
निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटी पार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका बन्द रहने छन् ।
स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, बैक तथा वित्तिय संस्थालगायत अत्यावश्यक क्षेत्रका सवारीसाधनलाई भने सञ्चालन गर्न दिइने छ ।
खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ ।
वैवाहिक कार्यक्रममा भने डिजे तथा ब्याण्ड बाजालाई बजाउनमा रोक लगाइएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र भौतिक दूरी कायम गरी बढीमा १० जनामा सीमित गर्ने निर्णय गरिएको छ ।
तपाईको प्रतिक्रिया