महोत्तरीमा बुधबारदेखि निषेधाज्ञा लागू हुने

समाचार

5/4/2021

महोत्तरी, २१ बैशाख । कोरोना संक्रमित बढ्दै गएपछि महोत्तरीमा जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय भएको छ । प्रशासनले वैशाख २२ गते बुधबार विहान ६ बजेदेखि ३१ गते शुक्रबार राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

कोरोना संक्रमणको दर अत्यधिक बढेको र केही संक्रमितको मृत्युसमेत भएकोले संक्रमणको चेन ब्रेक गरी यसलाई न्यूनिकरण तथा रोकथाम गर्न निषेधाज्ञा लगाइएको प्रजिअ भट्टराईले बताए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका सबै पालिकाहरुले आ–आफ्नो बिरामीका लागि अत्यावश्यक पर्ने अक्सिजन सिलिण्डर हाललाई न्यूनतम २०–२० थान खरिद गरी व्यवस्थापन गर्ने तथा थप सिलिण्डर व्यवस्थापनका लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटिपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय लगायत सञ्चालन गर्न रोक लगाइएको छ ।

विवाह, व्रतवन्धजस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनासम्म सहभागी भइ स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी गर्न सकिने र सो प्रयोजनका लागि बढीमा २ वटा साना गाडी र एउटा ठूलो गाडीमा शुभविवाहको ब्यानर राखी सञ्चालन गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ