कञ्चनपुर, २६ चैत । भारतबाट फर्केका बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ ।
कोरोना भाइरसको संक्रमण देखिए पछि कञ्चनपुरको नेपाल–भारत सीमासँग जोडिएका भूभागमा सतर्कता अपनाइएको हो । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै नेपाल र भारत दुवै देश लकडाउनमा छन्। नाका भएर आवागमनमा प्रतिबन्ध छ ।
लकडाउनका समयमा पनि मुख्य नाका बाहेक विभिन्न अन्य सहायक नाकाको प्रयोग गर्दै मजदुरीका लागि भारतमा रहेका नेपाली भित्रिन थाले पछि सशस्त्र प्रहरीले सीमामा कडाई गरेको हो । लकडाउन कडाईका साथ लागू गर्न कञ्चनपुरस्थित नेपाल–भारत सीमामा ११ वटा अस्थायी पोष्ट थप गरिएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजारदेखि भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीसम्म विभिन्न ठाउँमा ११ वटा अस्थायी पोष्ट राखिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका एसपी वीरबहादुर साहुले बताए । उनका अनुसार नेपाल–भारत सीमामा ११ वटा अस्थायी पोष्टमा दुई सय २० जना सशस्त्र प्रहरी परिचालन गरिएका छन् ।
तपाईको प्रतिक्रिया