महामारीका बेला सगरमाथामा चीनको सक्रियता

समाचार

5/15/2020

काठमाडौं, २ जेठ । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला चीनले उत्तरी मोहडाबाट आरोहणको ६०औं वार्षिकोत्सवका अवसरमा सर्वोच्च शिखर सगरमाथा लक्षित गतिविधिहरूलाई निरन्तरता दिइरहेको छ । सन् १९६० को मे २५ मा पहिलोपटक तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण भएको थियो ।

महामारीका कारण यस वसन्त ऋतुको पर्वतारोहण गतिविधि रोकेको चीनले सगरमाथामा फाइभ जी नेटवर्क जडान, उचाइ मापन, फोहोर संकलन, सगरमाथा केन्द्रित अनुसन्धानलगायतका गतिविधिहरूलाई यतिबेला तीव्रता दिइरहेको हो ।

चाइना मोबाइल र हुवावे कम्पनीले मिलेर सगरमाथाको ६ हजार ५ सय मिटरको उचाइमा पहिलो पटक फाइभ जी नेटवर्क स्थापना गरेका छन् । चाइना डेलीका अनुसार अप्रिल ३० तारिखदेखि सगरमाथामा गिगाबिट अप्टिकल फाइबर नेटवर्क स्थापित भएपछि अब चाइना मोबाइलले आफ्नो डुअल गिगाबिट नेटवर्क सञ्चालन गर्न सकेको हुवावे कम्पनीले पुष्टि गरेको छ ।

नेपाल र चीनको सीमामा पर्ने सगरमाथाको तेश्रो पटक उचाइ मापन गर्न लागेको चीनले खतरा कम हुँदै गएपछि मापनको कामलाई अघि बढाउने बताएको छ ।

चीनले सगरमाथाको ‘ग्ल्यामर’ बढाउनका लागि त्यहाँका गतिविधिहरूलाई सञ्चारमाध्यमहरूमा प्राथमिकता दिइरहेको छ । चाइना मोबाइलको क्लाउड भर्चुअल रियालिटी (भीआर) प्लेटफर्ममार्फत् सगरमाथाको दृश्य ३६० डिग्री लाइभ स्ट्रिमिङ पनि भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ