महामारीसँगै आक्रमणको त्रासमा नेपालगञ्जका स्वास्थ्यकर्मी

समाचार

6/3/2021

नेपालगञ्ज, २० जेठ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा काममा खटिएका चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि विरामीका आफन्तबाट आक्रमण भयो। अहिले यो घटना देशव्यापी रुपमा चर्चामा छ ।

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको यो नै पहिलो घटना भने होइन । यहाँको भेरी अस्पतालमा मात्रै पटक–पटक स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार र आक्रमणका घटना हुने गरेका छन् ।

कोरोना महामारीको बीचमा वितेको तीन हप्तामा मात्रै भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि मृतकका आफन्तबाट चार पटक आक्रमण भएको छ तर कारबाही भने एक जनालाई पनि भएको छैन ।

कोरोना महामारीमा रातदिन काममा खटिएका उपचार केन्द्रको रुपमा स्थापित नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यक्षेत्रमै पटक पटक हुने गरेको आक्रमणले स्वास्थ्यकर्मीको मनोवल कमजोर बन्दै गएको बताउने गरिएको छ । अस्पतालमा शृंखलाबद्ध रुपमा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको र मनोवल कमजोर बन्दै गएको नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले बताइन् ।

पछिल्लो घटनापछि भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दोषीलाई कार्वाही र सुरक्षाको माग गर्दै निरन्तर आन्दोलनमा छन् । विगतमा जस्तै यसपटक पनि दोषीलाई कारवाही नहुने आशंकामा स्वास्थ्यकर्मीले अस्पताल प्रशासनसँगै जिल्ला प्रशासन कार्यालयसम्म पुगेर शान्ति सुरक्षाको माग गरेको वलीले बताइन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका निवासी कोरोना संक्रमित डिल्ली रावतको उपचारका क्रममा गत बिहीबार मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावत, मृतकका छोरालगायत आफन्तले कोभिड आईसीयू कक्षमा प्रवेश गरी चिकित्सक तथा नर्सलाई हातपात गरेका थिए ।

गत जेठ ४ गते अस्पतालमा भर्ना भएका रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै आफन्तले आक्रमण गरेका थिए ।

ती सबै घटना कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर भएको भेरी अस्पतालका कोभिड फोकल पर्सन डा. संकेत रिजालले बताए ।

गत बिहीबार मृतकका आफन्तको आक्रमणमा परेका स्वास्थ्यकर्मी कार्यक्षेत्रमा फर्किसकेका छन् तर अहिले पहिलेको जस्तो उत्साह नभई कमजोर मनोबल हुने गरेको उनीहरूको भनाइ छ । फेरि कहीँ आक्रमण हुने हो कि भन्ने डर त्रास उत्पन्न हुने गरेको स्वास्थ्यकर्मी अश्विनी गुरुङले बताइन् ।

महामारीको समयमा दिनरात नभनेर काममा खटिएका स्वास्थ्यकर्मीमाथि हरेक दिनजसो ज्यान मार्ने उद्देश्यसहित आक्रमण हुँदा मनोबल कमजोर बनेको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेको भनाइ छ ।

भेरी अस्पतालमा पछिल्लो तीन सातामा चौथो पटक आफ्नो काममा खटिएका नर्स तथा चिकित्सकमाथि भौतिक आक्रमण भएको छ तर हालसम्म एकजना दोषीलाई पनि कारबाही हुन नसक्नु दुःखद भएको उनको भनाइ छ ।

यसैबीच नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा गठित सात सदस्यीय समितिले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई २५ पृष्ठको प्रतिवेदन बुझाएको हो ।

उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन । छानबिन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी विष्टले कोरोना महामारीका कारण भेरी अस्पतालमा भएको जनशक्ति अभाव, घटना भएको दिन उत्पन्न परिस्थिति, जनशक्ति अभावलगायत समस्या र त्यसको दीर्घकालीन समाधानका लागि प्रतिवेदनमा सुझाव दिइएको बताए ।

बाँकेमा कार्यरत चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी ‘जेल विथआउट बेल’ को मागसहित मौन आन्दोलनमा छन् । अस्पतालमा निरन्तर बिरामीको सेवामा खटिँदासमेत कैयौँ पटक स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पतालमा तोडफोडका घटना बढ्न थालेपछि स्वास्थ्यकर्मी सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ