महामारी रोकथाम र नियन्त्रणमा सम्पूर्ण शक्ति लगाउन सिडिओहरुलाई मुख्यमन्त्रीको निर्देशन

समाचार

4/30/2021

जनकपुरधाम, १७ बैशाख । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना महामारीको अवस्थाबारे जानकारी लिन प्रदेशस्थित आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल सम्वाद गरेका छन् ।

पछिल्लो समयमा बढ्दै गएको कोरोना महामारीको अवस्था, रोकथाम र नियन्त्रणका लागी जिल्लाहरुमा भइरहेको प्रयास तथा आगामी दिनमा प्रदेश सरकारले चाल्नु पर्ने कदमहरुबारे सुझाव लिन मुख्यमन्त्री राउतले भर्चुअल सम्बाद गरेका हुन् ।

छलफलको क्रममा मुख्यमन्त्री राउतले महामारीको रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण शक्ति लगाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

कोरोना जाँचका लागि प्रदेश सरकारले आठ वटै जिल्लामा पिसिआर मेशिन संचालनमा ल्याइसकेको हुँदा जाँचमा समस्या नहुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री राउतले उपचारका लागिसमेत प्रदेश सरकार तयारी अवस्थामा रहेको र थप तयारीसमेत शुरु गरिसकेको जानकारी गराएका थिए ।

छलफलको क्रममा प्रमुख जिल्ला अधिकारीहरुले कोरोना महामारी नियन्त्रणका लागि आठवटै जिल्लामा होल्डिङ्ग सेन्टरहरुको निर्माण गर्नु पर्ने सुझाव दिएका थिए ।

भर्चुअल सम्वादमा प्रदेश सरकारको तर्फबाट प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विरेन्द्र कुमार यादव, आर्थिक मामिला मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, चार वटै सुरक्षा निकायका प्रदेशस्थित प्रमुखहरुसहितको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ