जनकपुरधाम, २० फागुन । यातायात कार्यालय धनुषाबाट बुधबार १५ जना दलाल (बिचौलिया) लाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित रहेको यातायात कार्यालयबाट दिउँसो १५ समातिएका धनुषा प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ गरिएका १५ जनलाई शंकाका आधारमा पक्राउ गरिएको हो ।
उनीहरुलाई सर्वसाधारणसँग पैसा लिएको आरोपमा पक्राउ गरिएको हो । यातायात कार्यालयमा जानेबाटै रकम लिएर भित्रैबाट काम गराइदिन सक्रिय रहेको उनीहरूमाथि आरोप छ ।
यातायात कार्यालयमा बिचौलियाबिना काम नै नहुने र कर्मचारीले पनि काम नै नगरिदिनेजस्ता व्यापाक जनगुनासो बढेपछि सिभिलमा गएका प्रहरीले शंकास्पद उनीहरुलाई पक्राउ गरेका प्रहरी उपरीक्षक रानाभाटले बताए । उनीहरुमाथि अनुसन्धान जारी राख्दै दोषी देखिए कारबाही प्रक्रिया बढाउने प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया