यती एयरलाइन्सको काठमाडौं–वनारस–काठमाडौं उडान परीक्षण

समाचार

3/25/2021

काठमाडौं, १२ चैत । यती एयरलाइन्सले काठमाडौं–वनारस–काठमाडौं परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलता पूर्वक सम्पन्न गरेको छ ।

दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरुमा चार्टर÷नन् सेड्युल फ्लाइट गर्ने उद्देश्य कम्पनीको छ ।

सोही अनुरुप कम्पनीलाई अन्तर्राष्ट्रिय उडानका लागि नागरिक उड्डयन प्राधिकरणबाट गरिएको चरणबद्ध प्रक्रिया अन्तर्गत यो उडान गरिएको यती एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

परीक्षण उडानसँगै प्राधिकरणबाट यतीले अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त गर्ने अन्तिम चरणमा पुगेको उनले बताए । परीक्षण उडानको प्रतिवेदनसँगै केही दिन भित्र यती एअरलाइन्सले अन्तर्राष्ट्रिय उडानको एओसी प्राप्त गर्नेछ ।

परीक्षण उडानमा प्राधिकरण तथा एअरलाइन्सका अफिसियलहरुको सहभागीता रहेको प्रवक्ता बर्तौलाले जानकारी दिए ।

नयाँ बन्ने क्षेत्रीय विमानस्थललाई नजिकका अन्तर्राष्ट्रिय गन्तव्यलाई जोड्न र धार्मिक पर्यटनलाई भित्र्याउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय उडान गर्न लागेको उनले बताए ।

सन् २०२१ भित्रै दुईवटा एटीआर–७२ वायुयान थप्ने योजना बनाएको यो कम्पनीले अहिले एटीआर–७२ र जेटस्ट्रिम वायुयानमार्फत विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ