रोगले धानमा क्षति गरेपछि उत्पादन घट्ने चिन्ता

समाचार

10/15/2020

सर्लाही, २९ असोज । रोग, कीराको प्रकोपले सर्लाहीमा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । रोग, कीराको प्रकोप देखिएकाले उत्पादनमा असर पर्ने देखिएको कृषि ज्ञान केन्द्र, मलंगवाले जनाएको हो ।

अधिकांश क्षेत्रका गवारो कीराको प्रकोपले धानको बाला सुक्ने समस्या अत्यधिक मात्रामा देखिएको छ । यस्तै, उन्नत जातको धान रोपिएका कतिपय ठाउँमा दाना नलाग्ने समस्या देखिएको किसानहरुले बताएका छन् । कृषि ज्ञान केन्द्र, मलंगवाका निमित्त प्रमुख देवानन्द यादवले यस वर्ष धान खेती हुने सबैजसो फाँटमा रोपाइँ भए पनि धेरैजसो ठाउँमा रोग, कीराको प्रकोप देखिएकाले उत्पादनमा असर पारेको बताए । के कति मात्रामा उत्पादनमा असर गर्यो भन्ने विवरण स्थानीय तहहरुको कृषि विकास शाखामार्फत लिन बाँकी नै जानकारी दिए ।

यो वर्ष कोरोना संक्रमणकै बीच महँगो मलखाद प्रयोग गरी रोपिएको धान बालीमा रोगको प्रकोप देखिँदा किसानहरु चिन्तित भएका छन् । मुखैमा आइसकेको बालीमा अन्तिम समयमा आएर रोग, कीराको प्रकोप देखिएको बागमती नगरपालिका–१० शंकरपुरका किसान सुशील आचार्यले गुनासो गरे । धानको उत्पादन राम्रो नहुँदा खेती भएका किसानले समेत चामल किन्नुपर्ने अवस्था आएको किसानको गुनासो छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ