राजविराज, २६ बैशाख । कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई राजविराज नगरपालिकाले आइतबारदेखि घरमै औषधि पु¥याउन सुरु गरेको छ ।
नगरप्रमुख शम्भुप्रसाद यादव संक्रमितका घर–घरमा आफैं पुगी औषधि वितरण थालेका हुन् ।
कोरोना संक्रमण पुष्टि भए पनि अवस्था सामान्य रहेका कारण होम आइसोलेसनमा रहेकाहरुलाई औषधि वितरण सुरु गरिएको हो ।
वितरित औषधिमा सिटामोल, भिटामिन बी, सि, डि र इ, जिंक चक्की र जीवनजल छन् । एकजना संक्रमितलाई करिब एक हजार रुपैयाँ बराबरको औषधि वितरण गरिएको मेयर यादवले बताए ।
दोस्रो लहरको कोरोना संक्रमण सुरु भएपछि राजविराज नगरपालिकामा मात्र एक २५ जना संक्रमित भएका छन् । तीमध्ये १ सय १५ जना होम आइसोलेसनमै रहेको नगरपालिकाले जानकारी दिएको छ ।
आइतबार नै गजेन्द्रनारायण सिंह अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई पनि राजविराज नगरपालिकाले ती औषधिहरु दिएको छ । अस्पतालमा अहिले २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
यसैबीच सोमबारबाट राजविराजस्थित साईकृष्णा मेकिडल कलेजको पुरानो भवनमा ५० शैयाको कोभिड अस्पताल समेत संचालनमा आउने भएको छ ।
अहिले कोरोनाका बिरामीहरुका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा २५ शैय्याको एचडियु युनिटमात्र रहेको थियो ।
‘संक्रमित बढ्दै गएकाले साइकृष्णामा पनि शैय्या थप गरि सञ्चालनमा ल्याउन लागिएको हो,’ गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जितकुमार झाले भने ।
तपाईको प्रतिक्रिया