राजविराजमा पहिलो लिटिल आइकन

समाचार

3/15/2021

राजविराज, २ चैत । बालबालिकाको क्षमता विकास र अभिवृद्धिका लागि सप्तरीको राजविराजमा हुन लागेको पहिलो लिटिल आइकनको शनिबार अडिशन भएको छ ।

राजविराज जेसीजको आयोजनामा हुन लागेको राजविराज लिटिल आइकन २०२१ प्रतियोगिताका लागि अडिशनमा सहभागीमध्ये २० जना बालबालिका छनोट भएको राजविराज जेसीजले जनाएको छ ।

अडिसनबाट छानिएका प्रतिस्पर्धीलाई कोरियोग्राफर रजनी केसीलगायत विभिन्न क्षेत्रका विज्ञले एक महिनासम्म व्यक्तित्व विकास, सामाजिक रहन सहन, नैतिक जिम्मेवारी बारेमा प्रशिक्षित गरेपछि उनीहरुबीच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

सहआयोजक युवा सचेतना अभियानका निर्देशक भुवन राउतका अनुसार प्रतिस्पर्धीलाई सामाजिक उत्तरदायित्व, जीवनशैली, कलासंस्कृति, बोलीचाली, मानवअधिकार, ट्राफिक नियम, क्याटवाकका विषयमा समेत विशेषज्ञबाट प्रशिक्षित गराइने छ ।

प्रतियोगिताका बालक र बालिकातर्फ विजेताहरुलाई ताजसहित क्राउन, प्रमाण–पत्रलगायत नगद पुरस्कारसहित राजविराज लिटिल आइकन घोषणा गरिने छ ।

राजविराज जेसीज भवनमा पहिलो अडिसन सम्पन्न भएको र दोस्रो अडिशन आउने शनिबार हुने राजविराज जेसीजका अध्यक्ष सिद्धार्थ तातेडले बताए । राजविराज लिटिल आइकनको ग्राण्ड फाइनल राजविराजमा आगामी चैत ३१ गते गरिने राजविराज जेसीजले जनाएको छ ।

राजविराज लिटील आइकन २०२० कोभिड–१९ का कारण रोकिएको थियो । प्रतियोगिताको सहआयोजकमा युवा सचेतना अभियान तथा सुखी समाज, समृद्ध नेपाल रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ