रौतहट, २१ मंसिर । रौतहटमा घरेलुमा दर्ता नगरी क्रसर उद्योग चलाएको पाइएको छ । यसरी मापदण्डविपरीत चलेका रौतहटका ८ वटा क्रसर बन्द हुने भएका छन् । क्रसर उद्योगहरुको विस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड पूरा नगरेका ८ वटा क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संयोजकत्वमा बसेको बैठकले प्राविधिक समितिको प्रतिवेदनको आधारमा सो निर्णय गरेको थियो । प्रतिवेदनका आधारमा श्रीराम जानकी क्रसर उद्योग वृन्दावन नगरपालिका–६ हर्साहा, सुमुख क्रसर उद्योग फतुवा विजयपुर नगरपालिका–८, शिवशंकर क्रसर उद्योग गरुडा नगरपालिका महमदपुर, संकटमोचन वासिङ उद्योग वृन्दावन नगरपालिका–१, शिवम् बालुवा वासिङ उद्योग वृन्दावन नगरपालिका–१, आश्रय अस्फाल्ट एण्ड क्रसर उद्योग चन्द्रपुर नगरपालिका–८ नयावस्ती, रमन–सगरमाथा जेभी गुजरा नगरपालिका, र श्रेष्ठ धुकुछु मृत संजिवनी जेभि फतुवा विजयपुरलाई बन्द गर्ने निर्णय भएको हो ।
निर्णयअनुसार घरेलु तथा साना उद्योग कार्यालय वा सम्बन्धित स्थानीय तहमा उद्योग दर्ता नभई र अनुमति प्राप्त नगरी सञ्चालन गर्दै आइरहेको क्रसर उद्योगलाई तत्काल बन्द गर्ने, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई क्रसर सञ्चालन गर्ने अनुमति प्राप्त गरेको तर आवश्यक मापदण्ड पूरा नगरेका क्रसर उद्योगलाई हाललाई बन्द गरी मापदण्ड पुर्याएपछि मात्र संचालन गर्न अनुमति दिइने र राष्ट्रिय गौरवका आयोजना तथा प्राथमिकताप्राप्त योजनाका हकमा आवश्यक क्रसर उद्योगहरु सञ्चालन गर्न अनुमति दिने निर्णय भएको रौतहटका सिडियो यादवले जनाए ।
तपाईको प्रतिक्रिया