रौतहट, ११ असोज । मेयर र उपमेयरबीचको विवादले रौतहटमा चार पालिकाको परिषद् हुन सकेको छैन । देबाही गोनाही, राजदेबी, कटहरिया र फतुवा बिजयपुर नगरपालिकाको परिषद् अझै हुन सकेको छैन ।
परिषद् ढिला हुँदा नगरपालिकाको आगामी वर्षको विकास निर्माणका योजनाहरु प्रभावित हुने देखिएको छ । यी नगरपालिकाहरुले चालू आर्थिक वर्षमा गरिने विकास निर्माणको कामको योजना तर्जुमा गर्न सकेको छैन ।
देबाही गोनाहीका मेयर धर्वेन्द्रप्रसाद पटेल र उपमेयर पनरिया देवी बीचको विवादले अहिलेसम्म परिषद् हुने छाँटकाँट देखिएको छैन् । मेयर पटेलले उपमेयर पनरिया देवीले विभिन्न बाहनाबाजी गरेकोले परिषद् प्रभावित भएको आरोप लगाएका छन् । उपमेयर पनरिया देवीले अघिल्लो वर्षको हिसावकिताब हेरेर मात्र परिषद् गरौं भन्ने आफ्नो मान्यता रहेको बताए ।
स्थानीय सरकार संचालन ऐनमा आर्थिक वर्षको असार १० गते सबै स्थानीय तहको परिषद् सम्पन्न गर्नु पर्ने उल्लेख छ । १५ गते परिषद्मा प्रस्तुत बजेट बहुमत सदस्यबाट पारित गर्नुपर्ने प्रावधान छ । जिल्लाको १८ स्थानीय तहमध्ये केहीले मात्र समयमा परिषद् गरेका छन् ।
अधिकांशमा आन्तरिक विवाद चुलिएकाले परिषद् ढिला भएको हो । संघीय मामिला मन्त्रालयले जिल्लाका सबै स्थानीय तहमा असार १० गते पेस गरिएको बजेटको विवरण माग गरिएको छ । तर परिषद् नै नभएको नगरपालिकाले विवरण दिने सक्ने अवस्था छैन ।
यस्तै राजदेवी नगरपालिका मेयर धिरेन्द्रकुमार सिंह र उपमेयर अन्सु सिंह बीचको विवाद उत्कर्षमा पुगेपछि परिषद् अन्योलमा परेको छ ।
परिषद् हुनुअघि आन्तरिक आयको लागि राजस्व परामर्श समितिको निर्णयले चालु आर्थिक वर्षको बजेटबारे प्रतिवेदन तयार गर्नु पर्छ ।
यसैगरी फतुवा बिजयपुरका मेयर गोपालराय यादव र उपमेयर कान्तिदेवी बीचको विवादका कारण परिषद् हुन नसकेको हो । मेयर यादवले चाँडै परिषद् हुने जनाए । यो नगरपालिकामा गएको वर्ष अन्तिम समयमा आएर परिषद् भएको थियो ।
कटहरियामा पनि उस्तै समस्या छ । मेयर सियाराम कुशवाहा र उपमेयर नुरजहा खातुनबीच विवादले परिषद् हुन सकेको छैन ।
विवादकै कारण परिषद् हुन नसकेको मेयर कुशवाहाले स्वीकार गरे । जिल्लाको अधिकांश नगरपालिकामा मेयर र उपमेयरबीच विवाद कायमै रहेको पाइएको छ । मेयरले एकलौटी गर्न खोजेको, आफ्ना हक अधिकार खोसेको जस्ता आरोप उपमेयरहरुको छ ।
तपाईको प्रतिक्रिया