रौतहट, १४ असार । रौतहटमा एघार हजार बिरुवा रोपिएको छ । जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय रौतहटको सहकार्यमा रौतहटको चन्द्रपुरस्थित रामलाल साझेदारी वन क्षेत्रमा विभिन्न प्रजातिका एघार हजार बिरुवा लगाइएको हो ।
‘स्वस्थ, सुन्दर रौतहट हरियाली रौतहट’ भन्ने मूल नाराको साथ चन्द्रपुर नगरपालिका वडा नम्वर ८ रामलाल साझेदारी वनको ६ हेक्टर जग्गामा जामुन, टिकसहित विभिन्न जातको बिरुवाहरु लगाइएको हो ।
तीन दिन जारी वृक्षारोपण कार्यक्रम आइतबार सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो ।
डिभिजन वन कार्यालयको सहकार्यमा गरिएको वृक्षरोपन कार्यक्रमबाट यस भेगको वातावरणीय पर्यावरणमा सकारात्मक असर पुग्ने विश्वास आफूले गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
बिरुवा रोप्ने कार्यमा नेपाली सेनाको मुख्य भूमिका रहेको छ । बिरुवा रोपिएको क्षेत्रलाई घेराबेरा वन कार्यालयले गर्ने तथा बिरुवाको रेखदेख र सुरक्षा नेपाली सेनाले गर्ने बताइएको छ ।
नेपाली सेनाले बिरुवाको जिम्मा लिएपछि बिरुवाको संरक्षण हुने विश्वास सर्वसाधारणमा पलाएको छ ।
तपाईको प्रतिक्रिया