रौतहट, ११ असोज । लगातारको वर्षाका कारण रौतहट जिल्लामा सयौ विघा जग्गामा लगाइएको धानवाली डुबेका छन् । चार दिनसम्म परेको पानीले किसानहरुले आफ्नो खेतमा लगाएका धानवाली पानीमा डुबेको हो ।
गौर नगरपालिकाको दक्षिण, पूर्व, पश्चिम भूभागमा रहेको धानवाली बाढीको पानीले डुबेको छ । पाक्न लागेको र गर्भाअवस्थामा रहेका सारो धान पानीमा डुबेको किसानहरुले बताएका छन् । गौर नगरपालिका वडा नम्बर ८ का स्थानीय राम अयोध्या राय यादवले लालबकैया, झाझ खोलामा आएको बाढीको पानीले करीव २ विघा जग्गामा लगाइएको बाली डुबाएको बताएका छन् ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समयमा विउ, मालखाद उपलब्ध नगराए पनि जेनतेन गरी धान रोपेको र घर भित्र्याउने बेलामा अविरल वर्षाको कारण आएको बाढीबाट बाली डुबेर क्षति पुग्ने अवस्थामा पुगे पछि दुःखित भएको जनाए ।
कृषिमा आधारित रहेका किसानलाइ सरकारले कुनै सहयोग नगरेको कारण खेती गर्न धेरै समस्या भोग्नु परेको दुखेसो पोखे । उनले वर्षाबाट भएको क्षतिको मूल्याङ्कन गरी पीडित किसानलाई राहत उपलब्ध गराउनु पर्ने माग समेत गरे ।
विश्वभरि महामारीको रूप लिएर फैलिएको कोरोना भाइरसको संक्रमणबाट भएको बन्दाबन्दीबाट समस्या भोगेका किसानलाई धान खेती पनि वर्षाले क्षति गरेपछि समस्या उत्पन्न भएको स्थानीय राजदेवी नगरपालिका ७ का संजय प्रसाद यादवले बताएका छन् ।
नेपाल सरकारले मलखाद नदिदा प्रहरीको ज्यादती सहेर छिमेकी मुलुक भारतबाट डीएपी, यूरिया खाद ल्याएर छर्केर उत्पादन बढाउने प्रयास गरिए पनि वर्षा र बाढीले पाक्न लागेको धानबाली डुबाएर दुःख दिएको यादवले जनाए । उनले किसानको पीरमार्का बुझिदिन सम्बन्धित निकायसँग माग गरे ।
जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका तथ्यांकअनुसार गत वर्ष ३८ हजार ७ सय ४० हेक्टर जग्गामा धानखेती गरिएको थियो भने ९५ हजार ६ सय ५९ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको थियो ।
धान रोप्ने समयमा बाढी आउँदा लगाइएको बीउ तथा रोपिएको धान समेत नष्ट पुयाएका थिए । खेतमा रोपिएको धान नस्ट हुँदा अत्यन्तै पीडाबाट उन्मुक्ति पाउँदै बाली लगाएको किसानले बाली राम्री सप्रियर पाक्न लागेको र गर्भावस्थामा पुगेका बालीलाई बाढी आएर डुबाएपछि किसान माथि ठूलो बज्रपात नै खसेको छ ।
गएको वर्षभन्दा बढी उत्पादन बृद्धि हुने अनुमान गरिएपनि अहिले आएको बाढीको कारण उत्पादनमा ह्रास आउने संकेत देखिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।
तपाईको प्रतिक्रिया