रौतहट, ४ जेठ । रौतहटमा कोरोना संक्रमणको दर कम हुँदै गएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले हरेक दिन जारी गर्ने कोरोनासँग सम्बन्धित विवरणमा केही दिनदेखि जिल्लामा कोरोनाको संक्रमण कम भइरहेको देखिएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालयले जारी गरेको अपडेटमा जिल्लामा ३० जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घन्टामा जिल्लामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्लामा गत तीन हप्तामा कोरोना संक्रमितको संख्या सात सय ८७ पुगेको छ । कोरोना संक्रमणको तुलनामा निको हुनेको संख्या अहिले पनि कम रहेको देखिएको छ ।
कोरोना संक्रमणले रौतहटमा ३१ र अन्यत्र २२ गरी जिल्लाका ५३ जनाले ज्यान गुमाइसकेका छन् । जिल्लामा मृतकको संख्या केही भएको देखिएको छ । चार दिन पहिले एकै दिन जिल्लाका दश जनाको मृत्यु भएको थियो ।
जिल्लामा निषेधाज्ञालाई कडाइपूर्वक पालना गराइएको र सर्वसाधारणमा पनि गत वर्षको तुलनामा केही चेतना वृद्धि भएको कारण संक्रमण दर कम भएको स्थानीयको बुझाइ रहेको छ ।
सहरी क्षेत्रमा निषेधाज्ञाको कडा असर देखिएको भए पनि ग्रामीण क्षेत्रमा प्रहरीको गस्ती नभएकोले खासै प्रभावकारी नदेखिएको स्थानीयको भनाइ छ । ग्रामीण सडक तथा सहरी गल्लीहरुमा पनि प्रहरीको निगरानी बढ्नुपर्ने स्थानीयको माग रहेको छ ।
तपाईको प्रतिक्रिया