रौतहट, १३ असार । रौतहटका अधिकांश पालिका कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा रहेका १८ स्थानीय तहमध्ये चार ओटामा न्युन संख्यामा संक्रमित रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार उपलब्ध गराएको विवरणअनुसार जिल्लाको चन्द्रपुर नगरपालिकामा आठ जना, देवाही गोनाही नगरपालिकामा तीन जना, गुजरा नगरपालिकामा बीस जना र माधव नारायण नगरपालिकामा एक जना गरी ३२ जना सक्रिय संक्रमित रहेका छन् ।
रौतहटमा अन्य जिल्लाका दुईजना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । सक्रिय संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।
जिल्लाको गौर, गरुडा, ईशनाथ, राजपुर, परोहा, बौद्धिमाई, मौलापुर, कटहरिया, फतुवा विजयपुर, वृन्दावन, गढीमाई, राजदेवी नगरपालिकाका साथै यमुनामाई र दुर्गा भगवती गाउँपालिका सक्रिय संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणको दोस्रो लहरमा एक हजार तीन सय २० जना संक्रमित भएका थिए जसमध्ये एक हजार दुई सय ४० जना निको भइसकेका छन् । रौतहटका कोरोना संक्रमितको जिल्ला र जिल्ला बाहिर गरी एक सय १६ जनाको दोस्रो लहरमा मृत्यु भइसकेको छ ।
सक्रिय संक्रमितको संख्या घटदै गएसँगै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाको बजारहरु खुलिसकेका छन् भने सरकारी कार्यालयहरु पनि संचालनमा आउन थालेका छन् ।
यसैगरी सोमबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात पनि संचालन हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
तपाईको प्रतिक्रिया