रौतहट, ९ जेठ । रौतहटको दुर्गा भगवती गाउँपालिकामा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । दुर्गा भगवती गाउँपालिका ३ सदरमुकाम गौर जाने बाटोमा सामान्य विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो ।
दुर्गा भगवती ३ का युवक रघुनन्दन झा गौरतिर जान लागेको अवस्थामा इलाका प्रहरी कार्यालय गंगा पिपराका प्रहरी नायब निरीक्षक खड्गबहादुर खड्का र चालक सुनिल पटेलबीच सामान्य विवाद भएको थियो । सामान्य विवादमा प्रहरीले लौरो प्रहार गर्न थालेपछि घटनाले ठूलो रुप लिएको थियो ।
मोटरसाइकलमा बसेका युवक झालाई सई खडका र चालक यादवले जथाभावी लौरो प्रहार गरेपछि मोटरसाइकल छोडेर भाग्न लाग्दा समातेर लघारीलघारी कुट्न थालेपछि स्थानीयले आक्रोशित भएर प्रहरीमाथि आक्रमण गर्दा दोहोरो झडप भएको हो ।
झडपमा प्रहरीको संचार सेट फुटनुका साथै वर्दी पनि च्यातिएको थियो । प्रहरी र स्थानीयबीच भएको तनावलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप प्रहरी आएपछि साम्य भएको थियो । प्रहरी र स्थानीयबीच करिब दुई घन्टा झडप भएको थियो ।
प्रहरीको कुटाइबाट घाइते भएका युवक झालाई स्थानीय स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । स्वास्थ्य केन्द्रले युवक झालाई रेफर गरेपछि प्रहरीले स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी संजीव साहलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौर पु¥याएको थियो ।
गाउँपालिकाको आइसोलेसन प्रमुख डा. साहलाई प्रहरीले अपहरण शैलीमा ज्यादतीपूर्ण तरिकाले लगेपछि पालिकाका स्वास्थ्यकर्मीहरु पनि आन्दोलित भएका थिए । डा. साहको निःशर्त रिहाइका साथै नेपाल प्रहरीले माफी माग्नुपर्ने माग राख्दै विज्ञप्ति निकालेर स्वास्थ्यकर्मीहरुले कामकाज ठप्प पारेका थिए । गाउँपालिका प्रमुख अरुण साहको पहलमा डा. साहलाई प्रहरीको नियन्त्रणमुक्त गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुख एसपि सिद्धिविक्रम शाहले गम्भीर घाइते भनिएका झालाई चोटपटक लागेको तर अवस्था गम्भीर नरहेको बताउँदै सामान्य विषयलाई अतिरंजित बनाएर प्रस्तुत गरिएको बताएका छन् । घटनामा संलग्न चालक सुनिल पटेललाई जिल्लामा तानिसकेको एसपि शाहले बताएका छन् ।
तपाईको प्रतिक्रिया