रौतहटमा भएका श्रृंखलाबद्ध हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग

समाचार

8/20/2020

रौतहट, ४ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटमा भएका श्रृङ्खलाबद्ध हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

जिल्लामा निषेधाज्ञा जारी रहेको बेला लगातार श्रृङ्खलाबद्ध रुपमा भइरहेको हत्या तथा अपराधिक गतिविधिले आमनागरिक त्रसित बनेको तर प्रहरी प्रशासनको ध्यान अन्यत्र रहेको भन्दै उनले ध्यानाकर्षण गराएका हुन् ।

गरुडा नपा–८, जिंगडियाका २० वर्षीय दलित युवा निरन्जन राम (चमार) को धारिलो हतियारले घाँटी रेटेर हत्या भएको ३ दिनपछि बुधबार माधवनारायण नपा–२, खेसरहिया स्थित हनुमानमन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको गोली हानेर हत्या भएपछि नेता साह प्रहरीको भूमिकाप्रति आक्रोशित भएका हुन् ।

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले किसानले भारतबाट लुकीछिपी ल्याएको मलखाद दिनहुँ जसो समात्नेदेखि राँगा भैसी नियन्त्रणका लागि हवाई फायर गर्ने प्रहरी हत्या हिंसा रोक्नतर्फ केन्द्रित नहुँदा समाजमा त्रास पैदा भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

नेता साहले सामाजिक संजाल फेसबूकमा लेखेका छन्, ‘कोरोना महामारी नियन्त्रणका लागि रौतहटमा जारी निषेधाज्ञाकै क्रममा श्रावन ३२ गते गरुडा नपा–८, जिंगडिया निवासी करिब २० वर्षीय दलित युवा निरन्जन राम (चमार) को धारिलो हतियारले घाँटी रेटेर हत्या भयो । हिजो (भदौ ३ गते) माधवनारायण नपा–२, खेसरहिया स्थित हनुमानमन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको गोली हानेर पुनः अर्को हत्या गरिएको छ । यसरी कोरोना महामारी र लकडाउनसँगÞै रौतहटमा शृंखलाबद्ध रूपमा हत्या हिंसा लगायतका अपराधिक घटनाहरु भइरहेको छ । सर्वप्रथम, म यो शृंखलाबद्ध रूपमा भइरहेको गम्भिर हत्याकाण्डको घोर भर्त्सना गर्दछु साथै दोषीलाई कड़ा कार्वाहीको मागसहित पीडित परिवारप्रति गहिरो संबेदना व्यक्त गर्दछु ।’

रौतहटमा लगातार भइरहेको यी र यस्ता अपराधिक घटनाले आमजनतामा त्रासको स्थिति सृजना मात्र नभई सुरक्षा निकायको कार्यक्षमतामाथी नै गम्भिर प्रश्न खडा भएको उनले जनाएका छन् ।

‘गम्भिर प्रकृतिको आपराधिक घटनाको छानबिनमा केन्द्रित हुनुको सट्टा नेपाल प्रहरीको ध्यान अन्यत्र त छैन ? किसानले भारतबाट लुकीछिपी ल्याएको मलखाद दिनहुँ जसो समात्नेदेखि राँगा भैसी नियन्त्रणका लागि हवाई फायर गर्ने सम्मको क्रियाकलापले प्रहरीको ध्यान राजस्व छलि नियंत्रणमा बढ़ी केन्द्रित भएको हो कि ? भन्ने प्रश्न आमजनताको जिज्ञासा बनेको छ’ नेता साहले लेखेका छन्, ‘यसरी रौतहटको सुरक्षा निकायको कमजोर भूमिकाका कारण शान्ति सुरक्षाको स्थिति चिन्ताजनक बन्दै गएकोले यसमा मथिल्लो निकायलाई थप एवं ठोस रुपमा क्रियाशील बनाउन गृह मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ