भैरहवा, २४ चैत । रुपन्देहीको सीमावर्ती भारतीय सहरमा कोरोना संक्रमित फेला परेपछि सीमामा उच्च सतर्कता (हाई अलर्ट) अपनाइएको छ ।
कोरोना संक्रमणको रोकथामका लागि खुल्ला सीमाका कारण सर्वसाधरणको आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै सीमामा उच्च सतर्कता अपनाइएको हो ।
रुपन्देहीको मुख्य सीमानाका बेलहियादेखि २५ किलोमिटर र मर्चवार क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा रहेको कोल्हुई र पुरन्दपुर क्षेत्रको चार गाउँमा ६ जना संक्रमित फेला परेका थिए । मर्चवार क्षेत्रका सर्वसाधरणका लागि कोल्हुई मुख्य बजार हो ।
मर्चवार क्षेत्रबाट नेपाली र भारतीयको आवगमन हुने गर्दछ । सीमावर्ती क्षेत्रमा संक्रमित फेला परेसँगै जोखिम बढेको छ ।
यस्तै भारतबाट नेपाल आएका सुदूरपश्चिमका दुईजनामा पनि कोरोना संक्रमण पुष्टि भएपछि सीमामा निगरानी बढाइएको छ ।
सीमापारी भारतीय बजारमा संक्रमित फेला परेपछि सीमामा उच्च सतर्कता अपनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले महादेव पन्थले बताए ।
उनले यसअघि बढी आवतजावत हुने पाँचवटा मुख्य नाका सिल गरिएको र अब अवातजावत हुन सक्ने सा-साना नाका बाटोहरु पनि सिल गरिएको बताए ।
यसको अलावा सशस्त्र र जनपद दुवैले सीमावर्ती क्षेत्रमा गाडी मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल गस्तीलगायतका माध्यमबाट सीमाको निगरानी गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया