रमजान सुरु

समाचार

4/16/2021

विराटनगर, २ बैशाख । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान बुधबारबाट सुरु भएको छ । नयाँ वर्षसँगै रोजा पर्व सुरु हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन् ।

यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू क्यालेण्डरअनुसार दिनभर निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो ।

रमजान महिनामा नै मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ ।

शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउँछ ।

व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गइ कुरानको केही भागका रुपमा नमाज पढ्ने गर्छन् । एक महिनापछि व्रत समापनका अवसरमा पनि सामाजिक दूरी कायम गरेर इदुल फित्र मनाइने तयारी भइरहेको बताइएको छ ।

त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।

देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास रहेको छ । वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ