काठमाडौैं, १२ जेठ । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि बजेट विनियोजन गर्न सप्तरीका स्थानीय नेता तथा सर्वसाधारणले माग गरेका छन् । राजविराजका स्थानीय नेता तथा सर्वसाधारणले सप्तरी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रथम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने घोषणा स्वयम् प्रधानमन्त्री ओलीले गरेका थिए ।
घोषणा भएअनुसार सरकार आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा त्यो कार्यक्रमलाई समावेश गरेको थियो । सो आर्थिक वर्षमा ४० करोड रुपियाँ विनियोजन पनि गरेको थियो तर पटक सो कार्यक्रम नीति तथा कार्यक्रममा समावेश नगरेको कारण नेता तथा सर्वसाधारणहरु आक्रोशित भएका छन् ।
नेकपाका नेता एवं पूर्व मन्त्री उमेश यादवले चालु आर्थिक वर्षमा प्रतिष्ठानको कार्यालय पूर्वाधार तयारी विकास समितिहरु पनि बनेको र त्यसका लागि विभिन्न कामहरु पनि अगाडि बढेको बताए । तर २०७७/०७८ को नीति तथा कार्यक्रममा यस प्रतिष्ठान बारे सम्बोधन समेत नहुँदा आफूहरुलाई दुःख लागेको उनले बताए ।
राजविराजमा सो प्रतिष्ठान स्थापना हुनुपर्ने माग गर्दै आउने आर्थिक वर्षको बजेटमा यसलाई समावेश गराउन माग गर्दै सप्तरीका सिडियोमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाइएको हो ।
प्रतिष्ठानका लागि राजविराज १० मा ६१ विघा जग्गाको व्यवस्था समेत गरिएको छ तर त्यसलाई पास गराउने प्रक्रिया पनि भूमि मन्त्रालयमा अडकेर बसेको छ ।
तपाईको प्रतिक्रिया