राष्ट्रिय प्रसारणको बिजुली प्रदेश २ मा सबैभन्दा बढी

समाचार

8/16/2020

काठमाडौं, ३२ साउन । मुलुकभर ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार राष्ट्रिय ग्रिडमार्फत् प्रदेश २ मा सबैभन्दा धेरै घरपरिवारमा विद्युत‍्को पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा छ ।

प्रदेश २ मा राष्ट्रिय प्रसारण प्रणालीमार्फत् ९९.०५ घरपरिवारमा विद्युत् पुगेको छ भने कर्णाली प्रदेशमा ३४.७४ प्रतिशत घरमा मात्र बिजुली पुगेको छ ।

सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत् राष्ट्रिय ग्रिड पुग्न नसकेमा ठाउँमा सौर्य, लघुजलविद्युत् (माइक्रोहाइड्रो) लगायतमार्फत् पनि विद्युतीकरण गर्दै आएको प्राधिकरणले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्याङ्कअनुसार हाल नेपालको ९० प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत‍्को पहुँच पुगेको छ ।

सरकारले २०७९ भित्र प्रत्येक घरधुरीमा विद्युत् सेवा पु¥याउने र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत् खपतलाई ७०० युनिट पु¥याउने लक्ष्य राखेको छ । अहिले प्रतिव्यक्ति ऊर्जा खपत २६० युनिट छ ।

प्रदेश २ का आठ जिल्लामध्ये सिराहा, धनुषा, महोत्तरी, बारा र पर्सामा ९९ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ ।

प्रदेश २ पछि बागमती प्रदेशमा सबैभन्दा बढी विद्युतीकरण भएको छ । बागमती प्रदेशमा ९४.४४ प्रतिशत विद्युतीकरण भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ