काठमाडौं, ५ असार । राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत, मेक्सिको, नर्वे र आयरल्यान्ड निर्वाचित भएका छन् । संयुक्त राष्ट्र संघको महासभाले अस्थायी सदस्यका रुपमा यी चार मुलुकलाई निर्वाचित गरेको हो ।
नवनिर्वाचित अस्थायी सदस्यको कार्यकाल सन् २०२२ सम्म हुनेछ । नयाँ सदस्यको कार्यकाल जनवरी १, २०२१ बाट सुरु हुन्छ ।
धेरै लामो समयदेखिको पहल र अभियानका बाबजुद क्यानडा भने निर्वाचित हुन सकेन । ‘वेस्टर्न ब्लक’ को २ सिटका लागि भएको निर्वाचनमा क्यानडा आयरल्यान्ड र नर्वेसँग पराजित भयो । प्रधानमन्त्री जस्टिन ट्रुडोले राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यको निर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउन १३ जना कर्मचारी नै खटाएका थिए ।
एसिया प्रशान्त क्षेत्रका लागि भारत भने निर्विरोध निर्वाचित भएको हो । भारतले १८४ मत प्राप्त गरेको थियो । राष्ट्रसंघीय सुरक्षा परिषद्ले शान्तिस्थापना, अन्तर्राष्ट्रिय प्रतिबन्ध र विश्वका विभिन्न क्षेत्रमा देखिएका द्वन्द्व न्यूनीकरणका लागि काम गर्दै आएको छ । चीनसँग तनाव बढिरहेको अवस्थमा भारत राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपाल यसअघि, सन् १९६९–७० र १९८८–८९ को दुई चरणमा सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भइसकेको छ । राष्ट्रसंघीय मानवअधिकार परिषदमा पनि हाल नेपाल सदस्य छ ।
तपाईको प्रतिक्रिया