लकडाउनको मौका छोपी नवलपरासीमा खुकुरी देखाएर लुट्ने प्रयास गर्ने दुई जना प्रहरीको फन्दामा

समाचार

3/28/2020

नवलपरासी पश्चिम, १५ चैत । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ४ नर्सही नारायणी नदीको ठोकर नं १२ मा हातहतियारसहित दुई जना पक्राउ परेका छन् ।

शुक्रबार ९ बजे राति नर्सहीस्थित ठोकर संख्या नं. १२ नजिकबाट सुस्ता ४ नर्सही जर्लैया बस्ने करिब ४७ वर्षीय आस बहादुर गुरुङ र सोही ठाउँ बस्ने करिब ४६ वर्षीय नरेश गुरुङ पक्राउ परेका हुन् ।

कुडियाबाट रतनगंजतर्फ जाँदै गरेको लु १ त ५८३० नम्बरको ईन्धन बोकेको पिकअपलाई रोकेर उनीहरुले चालकलाई खुकुरी देखाई धम्काएपछि चालकले स्थानीय नर्सही प्रहरीलाई खबर गरेका थिए ।

नर्सही प्रहरीले इलाका प्रहरीलाई खबर गरेपछि इलाका प्रहरीको टोलीले तुरुन्तै घटनास्थलमा पुगेर खोज तलास गरी घटनामा संलग्न गुरुङद्वयलाई खुकुरीसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालयले नियत्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दुबै जनाले आफ्नो मुख कालो पट्टीले बाधेका थिए भनेर स्थानिय अशोक ठाकुरले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ